मंगलवार, १८ कार्तिक, २०८३

भारतीय विदेश सचिव विक्रम मिस्री १८ कात्तिकमा काठमाडौँ आउँदै

राष्ट्रिय सन्‍देश संबाददाता, ९ घण्टा पहिले

भारतीय विदेश सचिव विक्रम मिस्री १८ कात्तिकमा काठमाडौँ आउँदै

२०८३ कार्तिक १६ काठमाडौँ ।नेपाल र भारतले भारतीय विदेश सचिव विक्रम मिस्रीको आगामी नेपाल भ्रमणको सोमबार संयुक्त घोषणा गरेका छन् । दुई देशबीचको लामो समयदेखिको सम्बन्धलाई थप अघि बढाउने र सहकार्यका प्रमुख क्षेत्रहरूको समीक्षा गर्ने उद्देश्यसहित विदेश सचिव मिस्री यही कात्तिक १८ र १९ गते दुई दिने औपचारिक भ्रमणका क्रममा काठमाडौँ आउन लागेका हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार आफ्ना नेपाली समकक्षी परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा काठमाडौँ आउन लागेका मिस्रीले द्विपक्षीय छलफल गर्नेछन्।

भ्रमणका क्रममा दुवै देशका विदेश सचिवले नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षा गर्नुका साथै द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी साझा चासोका विषयमा विचार आदानप्रदान गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ।काठमाडौँ बसाइका क्रममा विदेश सचिव मिस्रीले नेपालका उच्च अधिकारी तथा राजनीतिक दलका नेताहरूसँग शिष्टाचार भेट गर्नेछन्

।यसैक्रममा उनले प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।काठमाडौँ र नयाँदिल्ली प्रधानमन्त्री शाहको आगामी मंसिर दोस्रो साताको उत्तरार्द्धमा हुने भनिएको भारत भ्रमणको तयारीमा जुटिरहेका बेला यो भ्रमण हुन लागेको हो ।भ्रमणको औपचारिक मिति घोषणा हुन बाँकी रहे पनि दुवै देशले कूटनीतिक संवादलाई तीव्र बनाएका छन् । विदेश सचिव मिस्री कात्तिक १९ गते नयाँदिल्ली फर्कने कार्यक्रम छ ।

advertisement_1676553851.gif