मंगलवार, १८ कार्तिक, २०८३

प्रधानमन्त्री बालेन शाहलक्षित गगन थापाको टिप्पणी-तर्साउने धेरै आए, तर्सिने बानी परेन

राष्ट्रिय सन्‍देश संबाददाता, ८ घण्टा पहिले

प्रधानमन्त्री बालेन शाहलक्षित गगन थापाको टिप्पणी-तर्साउने धेरै आए, तर्सिने बानी परेन

२०८३ कार्तिक १६ काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन शाहलाई लक्ष्य गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत कडा जवाफ फर्काएका छन् । सोमबार साँझ ठिक ६ बजे फेसबुकमा एक छोटो स्ट्याटस लेख्दै थापाले आफू कसैसँग नतर्सिने स्पष्ट सन्देश दिएका हुन् ।

‘अहिले ठिक १८:०० बजेको छ। तर्साउने धेरै आए, तर्सिने बानी परेन,’ थापाले फेसबुकमा लेखेका छन् । सामान्यतया लामा-लामा स्ट्याटस तथा भिडिओ सन्देशमार्फत आफ्ना धारणा राख्ने थापाले यसपटक भने संक्षिप्त तर अर्थपूर्ण शैली रोजेका छन् ।

यसअघि आइतबार प्रधानमन्त्री बालेन शाहले पनि सामाजिक सञ्जालमा चेतावनीपूर्ण शैलीमा छोटो स्ट्याटस पोस्ट गरेका थिए । शाहले लेखेका थिए, ‘सही समय आएपछि सबैको गलत समय आउँछ । एक दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ ।’

सभापति थापाले आफ्नो स्ट्याटसमा ‘ठिक १८:०० बजेको छ’ भनी समय उल्लेख गर्नुलाई निकै अर्थपूर्ण मानिएको छ । पछिल्लो समय नेपाली कांग्रेसको १५औँ महाधिवेशन/विशेष महाधिवेशन तथा त्यसपछि निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता अद्यावधिक गराउने प्रक्रियालाई लिएर राजनीतिक वृत्तमा निकै विवाद र बहस चलिरहेको छ । आयोगबाट आधिकारिकता प्राप्त गर्ने क्रममा १८ करोड रूपैयाँको आर्थिक लेनदेन भएको दाबीसहितका समाचारहरू सञ्चारमाध्यम र सामाजिक सञ्जालमा बाहिरिएका छन् ।

सम्पत्ति शुद्धीकरणको अभियोगमा प्रहरी नियन्त्रणमा रहेका इनम सापकोटाको बयानलाई आधार बनाएर उक्त भारी रकम लेनदेन भएको आरोप लगाइएको छ। यद्यपि, नेपाली कांग्रेसले भने ती सम्पूर्ण आरोपहरूको खण्डन र तीव्र प्रतिवाद गर्दै आएको छ ।

पार्टी विधान र कानुनी प्रक्रिया अपनाएरै महाधिवेशन सम्पन्न गरी नयाँ कार्यसमिति अद्यावधिक गरिएको स्पष्ट पार्दै कांग्रेसले पार्टीको छवि धुमिल बनाउन र भ्रम सिर्जना गर्न योजनाबद्ध तानाबाना बुनिएको भन्दै आपत्ति जनाएको छ । यही १८ करोडको चर्चा र प्रधानमन्त्रीको चेतावनीको पृष्ठभूमिमा सभापति थापाले साँझको ठिक ६ बजे (१८:०० बजे) नै स्ट्याटस पोस्ट गरेर त्यसको व्यंग्यात्मक प्रतिवाद गरेको विश्लेषण गरिएको छ ।

advertisement_1676553908.gif