बुधबार, १४ आश्विन, २०८३

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

राष्ट्रिय सन्‍देश संबाददाता, १८ घण्टा पहिले

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

२०८३ असोज १३ काठमाडौँ I परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा पर्यटनमन्त्री विजिथा हेराथबीच द्विपक्षीय भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री खनालले महासभाका क्रममा श्रीलङ्काका समकक्षी हेराथसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा नेपाल–श्रीलङ्का सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको खनालको सचिवालयले जनाएको छ ।

भेटमा मन्त्री खनालले नेपालको हालैको विनाशकारी जलवायुजन्य विपद्बाट प्रभावित समुदायप्रति श्रीलङ्का सरकारले देखाएको सहानुभूति र ऐक्यबद्धताप्रति आभार व्यक्त गरेका थिए । उनले विपद्का बेला श्रीलङ्का सरकार र त्यहाँका जनताले उपलब्ध गराएको आर्थिक तथा मानवीय सहयोगका लागि धन्यवादसमेत दिएका थिए ।

दुवै मन्त्रीले नेपाल र श्रीलङ्काबीच रहँदै आएको मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्धका विभिन्न पक्षबारे विचार आदानप्रदान गरेका थिए । उनीहरूले दुई देशबीचका विद्यमान द्विपक्षीय संयन्त्रका बैठकहरू नियमित रूपमा आयोजना गर्नुपर्नेमा जोड दिएका थिए ।

भेटका क्रममा व्यापार, पर्यटन, शिक्षा, संस्कृति, सम्पर्क सञ्जाल तथा जनस्तरको सम्बन्धलगायत आपसी हितका क्षेत्रमा सहकार्य थप विस्तार र सुदृढ गर्ने विषयमा पनि छलफल भएको थियो । दुवै पक्षले द्विपक्षीय सम्बन्धलाई अझ प्रभावकारी बनाउँदै पारस्परिक सहयोगका नयाँ क्षेत्र पहिचान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

advertisement_1676551694.gif