मंगलवार, १३ आश्विन, २०८३

कर्णालीका प्रदेशसभा सदस्य राजकुमार शर्मा पदमुक्त

राष्ट्रिय सन्‍देश संबाददाता, ४ घण्टा पहिले

कर्णालीका प्रदेशसभा सदस्य राजकुमार शर्मा पदमुक्त

२०८३ असोज १३ सुर्खेत । कर्णाली प्रदेशसभा सदस्य राजकुमार शर्मा पदमुक्त भएका छन् । शर्मालाई पदमुक्त गर्ने राजनीतिक दलको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेसँगै उनको प्रदेशसभा सदस्य पद गुमेको हो ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले शर्मालाई सांसद पदबाट पदमुक्त गर्न कर्णाली प्रदेशसभा सचिवालयलाई पत्र पठाएको थियो ।

दलको उक्त निर्णयविरुद्ध शर्माले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले रिट खारेज गर्ने फैसला सुनाएको हो ।

तत्कालीन माओवादी केन्द्रसहितका विभिन्न राजनीतिक दलहरूबीच एकता भई नेपाली कम्युनिस्ट पार्टी गठन भएपछि शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध भएका थिए ।

अन्य दलमा लागेको भन्दै नेकपाले उनलाई प्रदेशसभा सदस्य पदबाट हटाउन प्रदेशसभा सचिवालयमा औपचारिक पत्राचार गरेको थियो । अदालतको फैसलापछि उनी आधिकारिक रूपमा पदमुक्त भएका छन् ।

advertisement_1676551537.gif