राष्ट्रिय सन्देश संबाददाता, २१ घण्टा पहिले
२०८३ असोज ०६ काठमाडौँ I प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै छन् ।
प्रधानमन्त्री शाहले बिहीबार (सेप्टेम्बर २४) महासभाको सामान्य बहसलाई सम्बोधन गर्ने कार्यक्रम छ । न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता हुने कार्यक्रमसमेत तय भएको छ ।
महासभामा नेपालको प्रतिनिधित्व गर्दै टोलीमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जन, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत वरिष्ठ सरकारी अधिकारीहरू सहभागी छन् ।
सम्बोधनका क्रममा प्रधानमन्त्रीले पछिल्लो समय नेपालमा भोटेकोशी बाढी लगायतका प्राकृतिक विपद्ले पुर्याएको ठूलो जनधनको क्षतिलाई उल्लेख गर्दै जलवायु परिवर्तनका नकारात्मक असरहरूबारे विश्व समुदाय र राष्ट्रसंघको गम्भीर ध्यानाकर्षण गराउने छन् । त्यस्तै, जलवायु परिवर्तनबाट भएको क्षतिको सम्बोधनका लागि ‘हानि-नोक्सानी तथा क्षति सम्बोधन कोष’ (लस एन्ड ड्यामेज फन्ड) लगायत संयन्त्रमार्फत तत्काल र उपयुक्त आर्थिक सहयोग उपलब्ध गराउन नेपालले अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गर्नेछ ।
परराष्ट्रमन्त्री खनालको नेतृत्वमा रहेको टोली भने उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय छलफलमा सहभागी हुन यसअघि नै न्युयोर्क पुगिसकेको छ । परराष्ट्रमन्त्री खनालले विभिन्न मुलुकका समकक्षी तथा अन्य विशिष्ट व्यक्तिहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।
महासभामा सहभागी भएर प्रधानमन्त्री शाह असोज १० गते शनिबार काठमाडौँ फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।