शुक्रबार, २३ आश्विन, २०८३

बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

राष्ट्रिय सन्‍देश संबाददाता, १९ घण्टा पहिले

बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

२०८३ असोज २२ काठमाडौँ । भारतका बहुप्रतिभावान एवम् चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ । भारतको गोवास्थित डोना पाउला क्षेत्रमा रहेको आफ्नै निवासमा हृदयघातका कारण उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बिहान घरमा बेहोस अवस्थामा भेटिएपछि उनलाई तत्काल अस्पताल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए ।

सन् १९५१ जनवरी १ मा जन्मेका नाना पाटेकर (विश्वनाथ पाटेकर) ले सन् १९७८ को चलचित्र ‘गमन’ बाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए । उनले बलिउडका साथै मराठी सिनेमामा पनि आफ्नो अद्वितीय अभिनयको छाप छोडेका छन् । ‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘अपहरण’, ‘वेलकम’ र ‘नटसम्राट’ जस्ता प्रसिद्ध चलचित्रहरूमा उनका जीवन्त भूमिका चर्चित छन् ।

अभिनयका अलावा उनी आफ्ना सामाजिक कार्यका लागि पनि परिचित थिए । उनले स्थापना गरेको ‘नाम फाउन्डेसन’ मार्फत भारतका खडेरीपीडित किसानहरूलाई उल्लेखनीय सहयोग पुर्‍याउँदै आएका थिए । कला क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै भारत सरकारले उनलाई सन् २०१३ मा ‘पद्मश्री’ पुरस्कारबाट सम्मानित गरेको थियो ।

उनको अप्रत्याशित निधनले भारतीय चलचित्र जगतका साथै विश्वभर रहेका उनका प्रशंसकहरूमा शोकको लहर छाएको छ । फिल्मकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले उनीप्रति श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

advertisement_1676551694.gif