शनिबार, २० भाद्र, २०८३

चीनले नेपाललाई दियो दुईवटा बेलिब्रिज निर्माणका सामग्री

राष्ट्रिय सन्‍देश संबाददाता, ३ घण्टा पहिले

चीनले नेपाललाई दियो दुईवटा बेलिब्रिज निर्माणका सामग्री

२०८३ भदौ २० काठमाडौं । चीनको सिजाङ स्वायत्त क्षेत्रले नेपालका बाढी पहिरो प्रभावित क्षेत्रमा प्रयोग गर्ने गरी दुईवटा बेलिब्रिज निर्माण गर्न पुग्ने सामग्री उपलब्ध गराएको छ ।

सिजाङबाट पठाइएका बेलिब्रिजका उपकरण तथा आपत्कालीन राहत सामग्री शुक्रबार सिगात्सेस्थित रिजी नाकामा नेपाललाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो ।

सहयोगमा बेली प्यानल, मजबुत सस्पेन्सन रड, सपोर्ट फ्रेम, ब्रिज डेकिङ र आई-बिमलगायत संरचनागत सामग्री समावेश छन् ।

चिनियाँ दूतावासका अनुसार उपलब्ध गराइएका सामग्रीबाट दुईवटा बेलिब्रिज निर्माण गर्न सकिनेछ। बाढीपहिरोबाट क्षतिग्रस्त यातायात सम्पर्क पुन:स्थापित गर्न यी सामग्री उपयोगी हुने अपेक्षा गरिएको छ ।

सहयोग हस्तान्तरणका लागि ल्हासामा सिजाङ स्वायत्त क्षेत्रको विदेश मामिला कार्यालय र नेपाली महावाणिज्यदूतावासबीच कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा नेपालका तर्फबाट ल्हासास्थित महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले सहयोग सामग्री बुझेका थिए ।

सिजाङ स्वायत्त क्षेत्रले बेलिब्रिजका संरचनासँगै बाढी पहिरो प्रभावितका लागि आपत्कालीन राहत सामग्रीसमेत उपलब्ध गराएको छ । 

advertisement_1680627680.gif