राष्ट्रिय सन्देश संबाददाता, ६ घण्टा पहिले
२०८३ असोज २२ काठमाडौँ । क्यानडेली लेखिका तथा कवि एन कार्सनलाई यस वर्षको साहित्यतर्फको प्रतिष्ठित नोबेल पुरस्कार प्रदान गरिएको छ । आयोजक स्विडिश एकेडेमीले बिहीबार ७६ वर्षीया कार्सनलाई उक्त पुरस्कार प्रदान गर्ने औपचारिक घोषणा गरेको हो ।
शास्त्रीय परम्परासँगको चञ्चल र सिर्जनात्मक संवादमार्फत समकालीन साहित्यका लागि नयाँ रूपहरू सिर्जना गर्ने उनको साहसिक तथा आविष्कारक लेखन शैलीको कदर गर्दै यो सम्मान दिइएको नोबेल कमिटीले जनाएको छ । पुरस्कारको राशि करिब १२ लाख अमेरिकी डलर (११ लाख स्वीडिस क्रोनर) रहेको छ ।
प्राचीन ग्रीक साहित्यको अनुवादमा ख्याति कमाएकी कार्सनको लेखनमा त्यसको गहिरो छाप पाइन्छ । कविता, गद्य, संवाद र अनुवादको अनौठो तथा विधागत सीमा भत्काउने शैलीका लागि उनी परिचित छिन् । सन् १९९८ मा प्रकाशित उनको उपन्यास ‘अटोबायोग्राफी अफ रेड’ निकै चर्चित कृति मानिन्छ। त्यस्तै सन् २०१९ मा प्रकाशित ‘नर्मा जीन बेकर अफ ट्रोय’ मा युरापिडिजको प्राचीन नाटक ‘हेलेन’ मा उल्लिखित ट्रोयकी हेलेन र प्रसिद्ध अभिनेत्री मर्लिन मनरोको कथालाई प्रस्तुत गर्दै उनले आफ्नो विशिष्ट शैली प्रदर्शन गरेकी थिइन् ।
यो जितसँगै उनी अलेक्जेन्डर सोल्झेनित्सिन, एलिस मुनरो र अर्नेस्ट हेमिङवे जस्ता विश्वप्रसिद्ध साहित्यकारहरूको प्रतिष्ठित सूचीमा जोडिएकी छिन् । डाइनामाइटका आविष्कारक तथा व्यवसायी अल्फ्रेड नोबेलको इच्छापत्रअनुसार स्थापित स्विडिश एकेडेमीले सन् १९०१ देखि हरेक वर्ष साहित्य, विज्ञान र शान्तितर्फ योगदान पुर्याउने व्यक्तित्वहरूलाई नोबेल पुरस्कार प्रदान गर्दै आएको छ ।