राष्ट्रिय सन्देश संबाददाता, १८ घण्टा पहिले
२०८३ असोज २७ गोरखा । उत्तरी गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीमा परेका २८७ जना नागरिकको सकुशल उद्धार गरिएको छ । उद्धार टोलीले सोमबार मात्रै १९१ जनाको उद्धार गरेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए ।
यसअघि आइतबार बाढीमा फसेका स्थानीय बासिन्दा, विदेशी पर्यटक तथा जलविद्युत् आयोजनाका कर्मचारी गरी ९६ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो ।
आइतबार बिहान चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोलामा पहिरो खसेर थुनिएको पानी एक्कासि फुटेपछि बूढीगण्डकी नदीमा भीषण बाढी आएको थियो ।
गाउँपालिका अध्यक्ष लामाका अनुसार चुम र नुब्री उपत्यकातर्फ अझै सयौँको सङ्ख्यामा पर्यटकहरू रहेका छन् । उनीहरूलाई पनि यथाशीघ्र उद्धार गरी सुरक्षित गन्तव्यमा पुर्याउने पहल भइरहेको छ । यस्तै, बाढीबाट प्रत्यक्ष प्रभावित ३१ घरपरिवारलाई सोमबार राहत सामग्री वितरण गरिएको छ ।
यसैबिच, धार्चे गाउँपालिकातर्फ अवरुद्ध बनेको बाटो खुलाउने काम तीव्र पारिएको छ । आज साँझसम्म साना सवारी साधन सञ्चालन हुन सक्ने गरी बाटो खुलाउने प्रयास भइरहेको गोरखा सडक योजनाका प्रमुख विनोद पुनले बताए ।
उता आरुघाट र त्रिपुरासुन्दरी जोड्ने २५ मिटर लामो बेलिब्रिज जडानको काम पनि सुरु भएको छ । हेटौँडाबाट पुल निर्माणका सामग्री आइपुगेलगत्तै नेपाली सेनाको प्राविधिक टोलीले काम थालेको हो। आज र भोलिसम्ममा बेलिब्रिज जडान सम्पन्न गरी यातायात सञ्चालनमा ल्याइने नेपाली सेनाको रुद्रध्वज गणका गणपति विरोध रिजालले जानकारी दिए ।