राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ भदौ २० पाल्पा । पश्चिमाञ्चलकै ठूलो र राष्ट्रियता जोगाउने पर्वको रुपमा लिइने ऐतिहासिक भगवतीको जात्रा भगवतीको रथयात्रा आज पाल्पामा निकालिँदैछ ।
नेपालले अंग्रेज सेनालाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुशियालीमा मंगलबार पाल्पामा विजयोत्सवस्वरुप पाल्पामा २०७औँ रणउजिरेश्वरी भगवती जात्रा निकाल्न लागेको हो ।
दिउँसो १२ः३० को शुभसाइतमा ब्राह्मणबाट स्वस्ती वाचन गरी तानसेन नगरपालिका–३ को भगवती टोलमा रहेको भगवतीको मन्दिरबाट ऐतिहासिक भवगती जात्रा निकालिने रणउजेश्वरी भगवती गुठी सञ्चालक समितिका अध्यक्ष अशोक महर्जनले जानकारी दिए ।
नेपाली सेनाले सलामी दिएर तीनपटक मन्दिर परिक्रमा गराएपछि भगवती जात्रा रथ यात्रा निकालिनेछ । यसलाई भगवती जात्रा, रथ यात्रा अर्थात् सिन्दूर जात्राका नामले पनि चिनिन्छ ।
भगवतीको मन्दिरबाट शुभसाइतमा निकालिएको भगवती जात्रा रथ यात्रालाई शीत्तलपाटीको मूलढोका बाहिर निकालेपछि सरकारको तर्फबाट प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमबाट पूजा गरी बलि दिइने सरकारको तर्फबाट प्रमुख जिल्ला अधिकारीबाट पूजा गरी बलिदिइने छ अध्यक्ष महर्जनले बताए ।
देश शोकको अवस्थामा रहेकाले यस वर्ष जात्रामा अनावश्यक तामझाम नगर्ने निर्णय गरिएको अध्यक्ष महर्जनले बताए। उनले भने, “भोटेकोशीमा आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि देश शोकमा छ । यही अवस्थालाई ध्यानमा राख्दै हामीले विजयोत्सवलाई औपचारिकतामा मात्र सीमित गर्ने निर्णय गरेका हौँ ।” उनका अनुसार विगतमा जस्तो पञ्चेबाजा, ढिमे बाजा हुँदैन । नेपाली सेनाको बाजा भने प्रयोग हुने अध्यक्ष महर्जनले जानकारी दिए । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित उच्च पदस्थ व्यक्तिहरूको उपस्थितिमा रथ निकालिने छ ।
पाल्पाली प्रशासकका रुपमा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपालले विसं १८७१ पुसदेखि १८७२ जेठसम्म भएको अंग्रेजसँगको युद्धमा बुटवलको जितगढीलगायतका क्षेत्रमा विजय हासिल गरेको सम्झनामा विसं १८७७ देखि निरन्तररुपमा विजयोत्सव भगवती जात्रा मनाइँदै आएको छ ।
घरेलु हातहतियार, सैनिक अवस्था कमजोर भएको अवस्थामा बुटवल क्षेत्रलाई अंग्रेजको हातमा पर्न नदिन कर्णेल उजिरसिंह थापाले बुटवल क्षेत्रको युद्धमा जानुअघि तानसेनको मध्यभागमा रहेको भगवती देवीको पाउ छोएर युद्धमा विजयी भएमा मन्दिर बनाई सिन्दूरजात्रा गर्नेछु र भगवतीको महिमा चारैतर्फ फैलाउनेछु भनी भाकल गरेका थिए ।
दुईपटकसम्म बुटवल जितगढी क्षेत्रमा भएको युद्धमा विजयी भएपछि कर्णेल उजिरसिंह थापाले विसं १८७२ देखि ७६ सम्म गजुरसहितको तीनतले मन्दिर निर्माण गरी विसं १९७७ देखि विजयोत्सवका रुपमा प्रत्येक वर्ष भाद्र कृष्ण पक्षको नवमीको दिन भगवती जात्रा निकालिँदै आइएको छ । अंग्रेजलाई युद्धमा हराएकाले विजय जात्राका रुपमा सञ्चालन हुँदै आएको मन्दिरको नामसमेत रणउजिरेश्वरीबाट चर्चित रहँदै आएको छ ।
विद्यालय एवं विभिन्न सङ्घसंस्थाको उपस्थितिमा निकालिने भगवती जात्रा रथ यात्रालाई भजनकीर्तन, पञ्चेबाचा, लाखेनाच, विभिन्न सांस्कृतिक झाँकीसहित तानसेन नगर परिक्रमा गराएर पुनः भगवतीको मन्दिरमा लगी विसर्जन गरिनेछ ।
रणउजेश्वरी भगवती गुठी सञ्चालक समितिका अध्यक्ष राजेश्वर उदयले भगवतीको प्रतिमूर्ति र गोरखदल गणका कर्णेल जइन्द्र केसीले कर्णेल उजिरसिंह थापाले प्रयोग गर्ने तरबार यथास्थानमा राखेर जयजयकार गरी जात्राको विसर्जन गरिने बताए ।
आजको दिन यस भगवतीको मन्दिरमा पूजाआजाका लागि बिहान ४ः३० देखि साँझ ९ः०० बजेसम्म सर्वसाधारणका लागि व्यवस्था मिलाइएको छ ।
विजयोत्सव जात्रामा पाल्पाका साथै गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी, चितवन, स्याङ्जा, कास्कीलगायत क्षेत्रबाट निकै उत्साहका साथ अवलोकनका निम्ति आउने गरेको पाइन्छ । घर बाहिर रहेका पाल्पालीहरु पनि भगवती जात्राका दिन अनिवार्यरुपमा तानसेन आउने गर्छन् ।