राष्ट्रिय सन्देश संबाददाता, शनिबार, ७ चैत्र, २०८२
२०८२ चैत ७, तौलिहवा । दुई समुदायबीच भएको झडपको कारण भएको संवेदनशीलतालाई रोक्न तथा अझ चर्किन नदिन भन्दै कपिलवस्तुको महाराजगंजमा निषेधाज्ञा जारी गरिएको छ । जिल्लाको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै कपिलवस्तु प्रशासनले महाराजगंज नगरपालिकाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले आज दिउँसो २ बजेदेखि लागू हुने गरी अर्को सूचना नभएसम्मका लागि यो आदेश जारी गरेको हो । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार महाराजगंज नगरपालिकाका निम्न चार किल्लाभित्र निषेधाज्ञा लागू गरिएको छ । जसमा पूर्व: बर्गदी पुल पश्चिम: बहादुरगंज चोक, उत्तर: महाराजगंज बजार क्षेत्र दक्षिण:हर्दौना क्षेत्र रहेको छ ।
प्रशासनले तोकिएको क्षेत्रभित्र निम्न कार्यहरू गर्न पूर्ण रूपमा रोक लगाएको छ । जस अन्तर्गत सामूहिक रूपमा भेला हुन, सभा, जुलुस वा कुनै पनि प्रकारको प्रदर्शन गर्न शान्ति सुरक्षामा खलल पुग्ने गतिविधिहरू गर्न भनिएको छ । स्थानीय प्रशासनले शान्ति सुव्यवस्था कायम राख्न सहयोग गर्न सर्वसाधारणमा अपिल गरेको छ ।
आदेशको उल्लंघन गर्नेलाई कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ।