राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, ९ चैत्र, २०७९
लुम्बिनी।लुम्बिनी प्रदेश सरकारको मुख्य साझेदार नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने बिषयमा छलफल गर्ने बताएको छ। यसै विषयमा निर्णय लिन आज संसदीय दलको बैठक बोलाएको छ ।
माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले बिहीबार दिउसो बस्ने माओवादी संसदीय दलको बैठकबाट एमाले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने बताएका छन्।एमाले संसदीय दलका नेता लीला गिरी गत पुस २८ गते माओवादी केन्द्रसहित लोसपा, नागरिक उन्मुक्ति, राप्रपा, लोसपा र जसपाको समर्थनमा मुख्यमन्त्री बनेका थिए। एमाले र राप्रपाबाहेक सबै नया गठबन्धनमा गए पछि एमालेलाई समस्या परेको हो ।
कतिपय माओवादी नेतामा पनि नयाँ सरकार बनाउँदा पनि आफूहरूले मुख्यमन्त्री नपाउने अवस्थामा अहिलेकै सरकारलाई निरन्तरता दिने आवाज उठेको छ ।केन्द्रमा समीकरण फेरिएपछि सोही अनुसार ती दलले एमाले नेतृत्वको सरकारप्रतिको समर्थन फिर्ता लिने तयारी यसअघि नै थाले पनि प्रदेशको नेतृत्वको विषयमा कांग्रेस माओवादीबीच कुरा नमिल्दा रोकिएका हुन् ।
प्रदेशमा एमाले पहिलो दल भएकाले पनि उनीहरुले समर्थन फिर्ता लिँदा सरकार बनाउने प्रक्रिया लामो हुने देखिएकोलॆ नया गठबन्धनका नेता हरु पनि अलमलमा परेका छन् ।अहिले सरकारमा सहभागी दलबीच कुरा नमिले सरकारले प्रदेशसभाको अधिवेशन अन्त्य गर्न सक्ने संकेत नयाँ गठबन्धनले पाएका छन् । तर त्यो अवस्थामा पनि बहुमत सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुखलाई विशेष अधिवेशन बोलाउन आह्वान गर्ने तयारी भइरहेको बताइएको छ।