सोमबार, १२ आश्विन, २०८३

पाल्पामा पहिरोमा पुरिएर ५ जनाको मृत्यु

राष्ट्रिय सन्‍देश संबाददाता, ११ घण्टा पहिले

पाल्पामा पहिरोमा पुरिएर ५ जनाको मृत्यु

२०८३ असोज ११ पाल्‍पा । अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर पाल्पामा पाँच जनाको मृत्यु भएको छ ।

पाल्पाका प्रहरी प्रमुख एसपी दीपेन्द्र पञ्जियार थारुका अनुसार शुक्रबार एक जना र शनिबार राति चार जनाको पहिरोमा पुरिएर मृत्यु भएको हो ।

शुक्रबार रिब्दीकोट गाउँपालिकामा ५९ वर्षीया कृष्णकुमारी सारुको पहिरोमा पुरिएर मृत्यु भएको थियो ।

शनिबार राति माथागढी गाउँपालिका–३, भसकटामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । पहिरोबाट ७५ वर्षीय लीलबहादुर घर्तीमगर, उनकी १९ वर्षीया छोरी दिना घर्तीमगर र सोही घरमा बस्न गएकी १५ वर्षीया झरना घर्तीको शव निकालिएको प्रहरीले जनाएको छ ।

झरना आफ्नी साथी दिनाको घरमा बस्न गएको बेला पहिरोमा परेकी थिइन् । तीनै जनाको शव पहिरोबाट निकालेर पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको एसपी थारुले जानकारी दिए ।

त्यस्तै, माथागढी गाउँपालिका–२ को रक्सेमा पहिरोमा परेर ७५ वर्षीय शेरबहादुर चिढीमगरको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोमा परी पाल्पामा हालसम्म पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

advertisement_1680627680.gif