राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, १२ चैत्र, २०८२
२०८२ चैैैत्र १२, काठमाडौं । प्रदेश सरकारका विभिन्न निकायमा गरिने राजनीतिक नियुक्तिको विषयलाई लिएर सुदूरपश्चिममा दुई दलबीच विवाद चुलिएको छ, जसका कारण बिहीबारको मन्त्रिपरिषद् बैठकमा एमालेका मन्त्रीहरू सहभागी भएनन्।
एमालेले दाबी गरेको टीकापुर अस्पतालको अध्यक्ष पदमा मुख्यमन्त्री कमलबहादुर शाहले कांग्रेस निकटका व्यक्तिलाई नियुक्त गर्न खोजेपछि विवाद सुरु भएको हो।आज बसेको मन्त्रिपरिषद् बैठकमा एमालेका मन्त्रीहरूले आन्तरिक गृहकार्य बाँकी रहेको भन्दै बैठक सार्न आग्रह गरे पनि मुख्यमन्त्रीले कांग्रेसका मन्त्रीहरू मात्र राखेर बैठक अघि बढाएका थिए।
एमालेको अनुपस्थितिमा बसेको बैठकले केही महत्वपूर्ण नियुक्ति र मापदण्ड स्वीकृत गरेको छ। बैठकले दार्चुला, बैतडी, बझाङ र बाजुरा जिल्ला अस्पतालका अध्यक्ष र सदस्यहरू नियुक्त गरेको छ।स्रोतका अनुसार एमालेको भागमा परेको भनिएको टीकापुर प्रादेशिक अस्पतालको अध्यक्षमा रामबहादुर भण्डारीलाई नियुक्त गरिएको छ।त्येस्तै स्थानीय तह सेवा सञ्चालन नियमावली सुझावका लागि लोक सेवा आयोग पठाउने र सवारीसाधन खरिद सम्बन्धी मापदण्ड स्वीकृत गर्ने निर्णय भएको छ।
सरकारमा हुने राजनीतिक भागबण्डाका विषयमा एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले एकलौटी गरेको भन्दै पार्टीभित्रै पनि असन्तुष्टि बढेको बताइएको छ।दुवै दलले हालको विवादले सत्ता गठबन्धनमा कुनै असर नपर्ने दाबी गरिए पनि त्यति सजिलो भने छैन। तर एमालेको भागमा परेका पदहरूमा उहाँहरूले नाम टुंगो लगाएपछि अर्को बैठकले निर्णय कान्रेस नेताहरुको भनाई रहेको छ।