राष्ट्रिय सन्देश संबाददाता, १९ घण्टा पहिले
२०८३ असोज २७ काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा भइरहेको ओडीआई शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।
अल अमेरत ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजेदेखि सुरु हुनेछ ।
यसअघि आइतबार भएको शृङ्खलाको पहिलो खेलमा कप्तान रोहितकुमार पौडेलको उत्कृष्ट शतकको मद्दतमा नेपालले क्यानडामाथि जित हासिल गरेको थियो भने शुक्रबार भएको खेलमा ओमानले पनि क्यानडालाई पराजित गरेको थियो ।
ओमानको जितसँगै अंकतालिकाको शीर्ष चारभित्र पर्ने नेपालको सम्भावना सकिएकाले नेपाली टोलीको मुख्य ध्यान अब एकदिवसीय मान्यता जोगाउनु तथा अङ्कतालिकामा आफ्नो स्थिति सुदृढ गर्नुमा केन्द्रित रहेको छ ।
हाल लिग-२ को अंकतालिकामा नेपाल ३३ खेलबाट २६ अङ्कसहित छैटौँ स्थानमा छ भने क्यानडा ३४ खेलबाट २५ अंकसहित सातौं स्थानमा रहेको छ । त्यस्तै घरेलु टोली ओमान २९ खेलबाट ३३ अंकसहित चौथो स्थानमा रहेको छ ।
शीर्ष चारभित्र पर्न नसकेपछि नेपालले अब सन् २०२७ को एकदिवसीय विश्वकप छनोट यात्राका लागि प्लेअफ चरण खेल्नुपर्ने निश्चित भएको छ। उक्त प्लेअफ प्रतियोगितामा नेपालसँगै नामिबिया, क्यानडा र युएई प्रतिस्पर्धामा रहनेछन् ।