राष्ट्रिय सन्देश संबाददाता, १७ घण्टा पहिले
२०८३कार्तिक०४ काठमाडौँ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आगामी आईसीसी यू–१९ महिला टी–२० विश्वकपको खेल तालिका सार्वजनिक गरेको छ।सार्वजनिक तालिकाअनुसार प्रतियोगिताका ४१ मध्ये १५ वटा खेल नेपालमा आयोजना हुने भएका छन्।
नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदान र माथिल्लो मूलपानी क्रिकेट मैदानमा यी खेलहरू सञ्चालन हुनेछन् भने बाँकी अन्य खेलहरू सह-आयोजक राष्ट्र बङ्गलादेशमा हुनेछन्। प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ, जहाँ साबिक विजेता भारतसहित आयरल्यान्ड र वेस्टइन्डिजजस्ता बलिया टोलीहरू रहेका छन्। आयोजक नेपालले आफ्नै घरेलु मैदान र समर्थकमाझ विश्वका शीर्ष टोलीहरूसँग प्रतिस्पर्धा गर्ने अवसर पाउनेछ।
आगामी जनवरी २७ देखि फेब्रुअरी ६ सम्म सञ्चालन हुने यस प्रतियोगितालाई लिएर नेपाली क्रिकेट प्रेमीहरूमाझ उत्साह छाएको छ।नेपालमा पहिलोपटक यति ठुलो स्तरको विश्वकप प्रतियोगिताको सह-आयोजना हुन लागेकाले यसलाई ऐतिहासिक अवसरको रूपमा लिइएको छ। क्यानले विज्ञप्ति जारी गर्दै नेपालले आफ्नै भूमिमा यो भव्य प्रतियोगिताको सह-आयोजना गर्न पाउनु सम्पूर्ण देशका लागि गर्वको विषय भएको बताएको छ। यस प्रतियोगिताले नेपाली खेलाडीको प्रतिभा, जोस र नेपालको क्रिकेटप्रतिको अगाध प्रेमलाई विश्वसामु प्रदर्शन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास क्यानले व्यक्त गरेको छ।