राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, १८ भाद्र, २०८३
२०८३ भदौ १८ काठमाडौं ।एसीसी प्रिमियर कपमा नेपालले आफ्नो विजययात्रालाई निरन्तरता दिँदै लगातार दोस्रो जित दर्ता गरेको छ। मलेसियामा जारी प्रतियोगितामा बिहीबार भएको खेलमा नेपालले आयोजक टोली मलेसियालाई ६ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली मलेसिया नेपाली बलरहरूको उत्कृष्ट प्रदर्शनसामु निरीह साबित भयो। मलेसिया ३३.५ ओभरमा मात्र १०३ रन बनाउँदा अलआउट हुन पुग्यो। मलेसियालाई सस्तैमा समेट्न बलिङतर्फ नेपालका करण केसीले घातक प्रदर्शन गर्दै महत्वपूर्ण ४ विकेट लिए।
मलेसियाले प्रस्तुत गरेको १०४ रनको सामान्य लक्ष्य नेपालले २१.४ ओभरमा ४ विकेट गुमाएर सहजै पूरा गर्यो। नेपालको जितमा ओपनर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ४५ रनको योगदान दिए भने इशान पाण्डेले २० रन जोडे। यो फराकिलो जितसँगै नेपालले समूह चरणमा आफ्नो बलियो स्थिति कायम राखेको छ।