राष्ट्रिय सन्देश संबाददाता, सोमबार, १५ भाद्र, २०८३
२०८३ भदौ १५ काठमाडौँ ।विश्वप्रसिद्ध फुटबलर तथा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले राष्ट्रिय टिमबाट संन्यासको घोषणा गरेका छन्। लामो र ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रापछि मेसीले सामाजिक सञ्जालमार्फत एक भावुक वक्तव्य जारी गर्दै राष्ट्रिय टोलीबाट बिदा लिने निर्णय सार्वजनिक गरेका हुन्।
आफूले सधैँ अर्जेन्टिनाको जर्सीका लागि आफ्नो शतप्रतिशत दिएको उल्लेख गर्दै उनले अब टिमलाई थप दिनका लागि आफूसँग केही बाँकी नरहेको बताएका छन्। राष्ट्रिय टिमबाट खेल्दा समर्थकहरूलाई खुसी र गर्वको अनुभूति दिलाउन सधैँ प्रयास गरेको स्मरण गर्दै मेसीले यो निर्णय आफ्ना लागि निकै पीडादायी भएको महसुस गराएका छन्।
पछिल्ला वर्षहरूमा हासिल गरेका ऐतिहासिक सफलताका साथै संघर्षका दिनहरूलाई पनि सम्झँदै उनले आफ्नो यो विशेष अध्यायको अन्त्य भएको घोषणा गरेका छन्। मेसीको यस निर्णयसँगै विश्व फुटबलमा अर्जेन्टिनाको एउटा स्वर्ण युगको औपचारिक अन्त्य भएको छ।