राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, ९ फाल्गुन, २०७९
काठमाडौँ।आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत किर्तिपुर मैदानमा भइरहेको शृखंलाको अन्तिम खेलमा आज नेपालले स्कटल्याण्डलाई २ विकेटले पराजित गरेको छ। आजको खेलमा रोहितले ९५ रन बनाएपछि २१३ रनको लक्ष्य नेपालले ४४.१ ओभरमा ८ विकेट गुमाएर पूरा गर्दै शानदार जित निकालेको हो । रोहितले ७ चौका र ४ छक्का प्रहार गरे । करणले २ चौका र १ छक्का मद्दतमा ३१ रन बनाए । १३८ रनमा ८ विकेट गुमाएको अवस्थामा रोहित र करणले संयमित ब्याटिङ गर्दै नेपाललाई जित सम्म पूर्याए । यो जोडीले नवौँ विकेटका लागि ७५ रनको साझेदारी गरे । नेपालले लिग टु मा पहिलो पटक शृंखलाको चारै खेल जितेको हो र घरेलु मैदानमा शृखंला क्लिन स्वीप गर्ने नेपाल पहिलो टिम समेत बनेको छ ।
नेपालले यसअघि नामिबियालाई दुई र स्कटल्याण्डलाई एक पटक हराएको थियो । यसअघि नेपालले २७० भन्दा बढी लक्ष्य पूरा गर्दै जित निकालेको थियो ।