शनिबार, ३ फाल्गुन, २०८१

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेटको उपाधि एपीएफले जित्‍यो

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, १२ माघ, २०८१

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेटको उपाधि एपीएफले जित्‍यो

१२ मााघ, कैलाली । धनगढीमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ । आज सम्पन्न फाइनल खेलमा घरेलु टोली सुदूरपश्चिम प्रदेशमाथि नौ विकेटको जित निकाल्दै एपिएफले उपाधि हात पारेको हो ।योसँगै एपिएफले लगातार दोस्रोपटक उपाधि जितेको हो ।

उपाधिसँगै एपिएफले रु पाँच लाख पुरस्कार पाएको छभने सुदूरपश्चिम उपविजेता हुँदै रु तीन लाख नगद पुरस्‍कार जितेको छ । जितका लागि पाएको ६८ रनको विजयी लक्ष्य एपिएफले १२ दशमलव पाँच ओभरमा एक विकेटको क्षतिमा पूरा गर्‍यो । एपिएफका ममता चौधरीले अविजित ४३, कप्तान इन्दु बर्मा नटआउट १८ रन जोडिन् । यसअघि फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम १८ दशमलव एक ओभरमा ६७ रनमा समेटियो । जसमा ममता बोहराले १८ र कप्तान विन्दु रावलले १७ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङतर्फ एपिएफका कविता जोशीले तीन, कप्तान इन्दु बर्मा र सवनम राईले दुई/दुई विकेट हात पारे । कविता ‘प्लेयर अफ द म्याच’ चुनिएका छिन्। यसैबीच प्रतियोगिताभर व्यक्तिगत एक सय ७२ रन र पाँच विकेट हात पारेकी एपिएफकी कप्तान बर्मा ‘प्लेयर अफ द सिरिज’ भएकी हुन् । एपिएफका लागि दुई सय नौ रन बनाएकी ममता चौधरी वेस्ट ब्याटर र बागमतीका लागि १० विकेट हात पारेकी मनिषा उपाध्याय बेस्ट बलर हुन सफल भइन् । प्लेयर अफ द सिरिजले रु ५० हजार, वेस्ट ब्याटर र वेस्ट बलरलाई रु २५/२५ हजार पुरस्कार पाएका छन्।

यही माघ १ गतेदेखि सुरू भएको प्रतियोगितामा १२ टोलीको सहभागिता थियो । राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भएको हो ।

फाइनल खेलपछि आयोजित समारोहमा नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सुदूरपश्चिम खेलकुद परिषद्का सदस्यसचिव दीपकबहादुर सिंह, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीलगायत खेलाडीहरूको उपस्थिति थियो

advertisement_1676551646.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif