राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ असोज २५ काठमाडौँ । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक शृङ्खलामा क्यानडाविरुद्ध नेपाल २४ रनले विजयी भएको छ । जारी लिग–२ मा नेपालको १२औँ जित हो । यो जितपछि नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने सम्भावना बढेको छ ।
आज भएको खेलमा नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८ दशमलव चार ओभरमा २११ रनमा अलआउट भयो । उसका लागि आरोन जोनसनले ४४, समित गोहेलले ३५, अखिल कुमारले अविजित ३०, श्रेयस मोभ्वा र हम्जा तारिकले २६÷२६ रन जोडे ।
बाँकी ब्याटरको प्रदर्शन सन्तोषजनक देखिएन । नेपालका लागि बलिङतर्फ ललित राजवंशी, सन्दीप लामिछाने, करण केसी र नन्दन यादवले दुई दुई विकेट लिए । त्यसअघि मस्कटस्थित अल अमरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनायो ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सानदार पारी खेले । उनले १०७ बलमा आठ चौका र एक छक्कासहित १०१ रनको पारी खेलेका हुन् । यस्तै, गुलशन झाले ४८ बसिर अहमदले ३० र अर्जुन कुमालले २३ रन जोडे । क्यानडाका लागि बलिङमा अखिल कुमारले सर्वाधिक चार विकेट लिए ।
यो जितपछि नेपाल अङ्क तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । नेपालले अहिलेसम्म ३३ खेलमध्ये १२ खेलमा जित र १९ खेलमा पराजय व्यहोरेको छ । यस्तै, नेपालले दुई खेलमा अङ्क बाँडेको छ ।