राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २८ कार्तिक, २०८१
काठमाडौं, कार्तिक २८ । नेपाल यू-१९ महिला टी-२० विश्वकपमा छनाेट भएको छ । आज भएको अन्तिम खेलमा युएईलाई ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपमा पुगेको हो । युएईले दिएको ८४ रनको लक्ष्य पछाएको नेपालले १४.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्दै प्रतियोगितामा शिर्ष स्थानमा रहदै विश्वकपमा छनाेट भएको हो ।
यूएईले दिएको ८४ रनको लक्ष्य पछ्याएको नेपालले दुई विकेटको क्षतिमा १४.३ ओभर खेल्दै जित दर्ता गरेको हो । यूएईको अजमानस्थित द सेभेन रंगशालामा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ८३ रन मात्रै बनायो ।जवाफी ब्याटिङमा उत्रिएको नेपालका लागि साना प्रविनले सर्वाधिक ३१ रन बनाइन् । उनले ४१ बल खेल्दै सर्वाधिक रन बनाएकी हुन् । यस्तै, सोनी पार्खिनले १७ रनमा नटआउट भइन् । यसैगरी पूजा महतोले १७ बलमा चार चौका प्रहार गरी २१ रन बनाएकी थिइन् । साबित्री धामीले १२ रन बनाइन् ।
यस्तै, यूएईका लागि कप्तान समाइरा धर्निधरकाले सर्वाधिक ३१ रन बनाइन् । त्यस्तै रिनिथा रन्जितले २० रन बनाउँदा ओपनर लावन्या केनी र इन्दुजा नन्दाकुमारले समान १० रन बनाए । बलिङतर्फ नेपालका लागि कृष्मा गुरुङले चार ओभरमा १७ रन दिएर चार विकेट लिइन् । रिया शर्मा र सीमा केसीले २–२ विकेट लिँदा रचना कुमारी चौधरीले एक विकेट लिइन् ।एसिया छनोटमा नेपालले खेलको ६ खेलमध्य पाँच खेलमा जित हासिल गरेको थियो । एक खेलमा पराजित भएको थियो ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । दोस्रोमा नेपालले कुवेतलाई १०८ रनले हराएको थियो ।तेस्रो खेलमा नेपाल घरेलु टोली युएईसँग १३ रनले पराजित भएको थियो । आइतबार भएको चौँथो खेलमा नेपालले थाइल्याण्डलाई १०६ रन र मंगलबारको खेलमा कुवेतलाई १६५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।