राष्ट्रिय सन्देश संबाददाता, ८ घण्टा पहिले
२०८३ असोज २२ काठमाडौँ । नेकपा एमालेले आगामी मंसिर पहिलो साता काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको छ ।
पार्टी स्थायी कमिटीको बैठकपछि पार्टी सचिव महेश बस्नेतका अनुसार तल्लो तहका भेलाहरू सम्पन्न गरेलगत्तै काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेला गर्न लागिएको हो ।
उक्त राष्ट्रिय भेलामा एमालेका प्रदेश तथा जिल्ला पदाधिकारी, पालिकाका अध्यक्ष र उपाध्यक्षका साथै संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूको उपस्थिति रहने सचिव बस्नेतले जानकारी दिए ।
बैठकले तल्लो तहको अधिवेशनको कार्यतालिका पनि तय गरेको छ । जसअनुसार मंसिर २६ गते वडा अधिवेशन र पुस ४ गते पालिका अधिवेशन हुनेछ। वडा र पालिका अधिवेशन सकिएपछि प्रदेशस्तरीय भेलाहरू सञ्चालन गरिने एमालेले जनाएको छ ।