राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ असोज २५ काठमाडौँ । गोरखाको चुमनुव्री गाउँपालिका-६ लोक्पा र चुम्लिङको बीचमा खसेको ठूलो पहिरोका कारण बूढीगण्डकी नदीमा भीषण बाढी आएको छ। बाढीमा परी दुई महिला र तीन पुरुष गरी पाँच जना बेपत्ता भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चुमनुव्री गाउँपालिका-६ चुम्चेतको उङ्गिलुङ निवासी उनीहरू भेडीगोठमा बसिरहेका बेला बाढीले बगाएर बेपत्ता भएका हुन् ।
प्राधिकरणका प्रवक्ता शान्ति महतले बाढीले गोरखाका विभिन्न स्थानमा घर, झोलुङ्गे तथा पक्की पुल, विद्युत्का खम्बा र टेलिफोन टावरमा ठूलो क्षति पुर्याएको जानकारी दिइन् । उनका अनुसार धार्चे गाउँपालिका-३ सल्लेरीस्थित निर्माणाधीन ‘टाइम्स ऊर्जा प्रालि’ र आसपासका सातदेखि आठ वटा घर बाढीले बगाएको छ ।
यसैगरी, चुमनुब्री गाउँपालिका-३ न्याकचेतमा न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ भने सोही स्थानमा एउटा घर बगेको र अर्को घरमा बाढी पसेको छ । धार्चे गाउँपालिका-५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुलसमेत बाढीले बगाएको उनले बताइन् ।
बाढीको क्षतिबारे थप जानकारी दिँदै प्रवक्ता महतले भनिन्, “आरुघाट गाउँपालिका-९ नयाँपुलस्थित गोरखा र धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको भाग बगाएको छ । साथै आरुघाट गाउँपालिका-२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बगेको छ।” माछीखोलाको तल्लो बस्तीमा बाढी पस्दा त्यहाँका २० देखि २२ घर गम्भीर जोखिममा परेका छन् ।
यस्तै, बूढीगण्डकी जलविद्युत् आयोजनाको ३४१ मेगावाट क्षमताको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरणहरूसमेत बाढीले बगाएको छ। बाढीका कारण क्षेत्रभर दुई वटा टेलिफोन टावर र ५० वटा विद्युत्का खम्बामा क्षति पुगेको छ ।
बाढीको सूचना प्राप्त हुनासाथ सुरक्षाकर्मी परिचालन गरी नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको प्राधिकरणले जनाएको छ । खोज तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय आरुघाटबाट २५ जना प्रहरी परिचालन गरिएका छन् भने सल्लेरीस्थित टाइम्स ऊर्जा प्रालिका १२ जना कर्मचारीलाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याइएको छ ।
प्रभावित क्षेत्रमा ४३७ सुरक्षाकर्मी परिचालन
बाढी प्रभावित क्षेत्रमा तीव्र रूपमा खोज तथा उद्धार कार्य चलाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी कुल ४३७ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले खोज तथा उद्धारका लागि नेपाली सेनाका चार वटा हेलिकप्टर प्रयोग भइरहेको बताए । सेनाको हेलिकप्टरमार्फत हालसम्म ४७ जनाको सकुशल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिसकिएको उनले जनाए ।
बाढीको पूर्वसूचना र प्रतिकार्यबारे जानकारी दिँदै डा. उप्रेतीले भने, “घटनाको सूचना पाउनासाथ गोरखा, धादिङ र चितवनको बेनीघाटसम्मका तटीय क्षेत्रका बासिन्दालाई एसएमएसमार्फत पूर्वसूचना पठाइएको थियो ।” साथै गोरखा, धादिङ, तनहुँ, चितवन तथा नवलपरासी पूर्व र पश्चिमका २२१ जना प्रतिकार्यकर्तालाई तत्काल परिचालनका लागि सूचना पठाइसकिएको उनले बताए ।