बुधबार, २८ आश्विन, २०८३

ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम

राष्ट्रिय सन्‍देश संबाददाता, ६ घण्टा पहिले

ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम

२०८३ असोज २७ काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले १२ वटा समस्याग्रस्त सहकारीका २३५ जना बचतकर्ताको रकम फिर्ता गरेको छ । समितिका अनुसार पहिलो चरणमा थोरै रकम बचत गरेका बचतकर्तालाई रकम फिर्ता गरिएको हो ।

सरकारले समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनका क्रममा प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको जनाएको छ । बचतकर्ताको रकम फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्थाअनुसार निरन्तर भइरहेको समितिले स्पष्ट पारेको छ ।

पहिलो चरणमा थोरै बचत भएका बचतकर्तालाई प्राथमिकता दिइएको र आगामी दिनमा बचत रकमका आधारमा वर्गीकरण गरेर क्रमशः रकम फिर्ता गरिने समितिले जनाएको छ ।

समितिका अनुसार कृषि विकास सहकारीका ४ जना, गोरखा सहकारीका ११ जना, आइडियल यमुना सहकारीका ६ जना र कान्तिपुर सहकारीका ८० जना बचतकर्ताले रकम फिर्ता पाएका छन्। त्यस्तै, नेपाल वित्तीय सहकारीका १२ जना, ओरिएन्टल सहकारीका ३७ जना, शिव शिखर सहकारीका ६२ जना र पशुपति सहकारीका ४ जना बचतकर्ताको रकम फिर्ता गरिएको छ ।

यसैगरी, तपाईं हाम्रो सहकारीका १० जना, स्ट्यान्डर्ड सेभिङ सहकारीका ४ जना, लालीगुराँस सहकारीका १३ जना र गौतम श्री सहकारीका १ जना बचतकर्ताले रकम फिर्ता पाएका छन् ।

समस्याग्रस्त सहकारीबाट ऋण असुली र सम्पत्ति व्यवस्थापन गरी प्राप्त रकम सम्बन्धित सहकारीका बचतकर्तालाई फिर्ता गर्ने प्रक्रिया निरन्तर अघि बढाइएको समितिले जनाएको छ ।

advertisement_1680627680.gif