राष्ट्रिय सन्देश संबाददाता, १६ घण्टा पहिले
कात्तिक १४, २०८२ काठमाडौं। सरकारले भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड जारी गरेको छ । गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले यसअघिको ६ बुँदे मापदण्ड खारेज गर्दै नयाँ मापदण्ड लागू गरेको हो ।
संविधानले दिएको नागरिकका मौलिक हक, व्यक्तिको मानवअधिकार र स्वतन्त्रतापूर्वक आवतजावत गर्नपाउने अधिकारको प्रत्याभूति गर्न र स्वार्थसमूहका चलखेललाई निरुत्साहित गरि भिजिट भिसाका नाममा हुने गरेका गलत क्रियाकलापहरू नियन्त्रण गरी अध्यागमन प्रशासनमा सुशासन तथा व्यावसायिकता प्रवर्द्धन गर्ने भन्दै उक्त मापदण्ड पुनरावलोकन गर्न सिफारिस गरिएको थियो ।
त्येही अनुसार २०८० माघ १० देखि लागू भएको छ बुँदे मापदण्डलगायत तत्सम्बन्धी अन्य भिजिट भिसासम्बन्धी प्रावधानहरू खारेज गरिएको अध्यागमन विभागले जनाएको छ ।
मन्त्रीस्तरीय निर्णय गरि सरकारले बिहीबारदेखि चार बुँदे नयाँ प्रावधान लागू गरेको बताएको छ । जसमा कम्तीमा ६ महिना वैध अवधी भएको राहदानी, सम्बन्धित देशको प्रवेशाज्ञा वा अन अराइभल भिसा प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा नचाहिने, प्रस्थान गर्ने गन्तब्यसम्मको हवाइ टिकट र आफू भ्रमण गर्ने प्रयोजनको लागि जान लागेको, सोको लागि आवश्यक कागजात साथमा रहेको र यसबाट सिर्जित परिणाममा स्वयम् जिम्मेवार रहने समेत व्यहोराको प्रस्थान गर्ने व्यक्तिले गरेको स्वःघोषणा गरेको हुनुपर्नेछ ।