शुक्रबार, ९ आश्विन, २०८३

सबै जिल्लाका सीडीओ तथा सुरक्षा संयन्त्र लाई अलर्ट'मा रहन निर्देशन

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

सबै  जिल्लाका सीडीओ तथा सुरक्षा संयन्त्र लाई अलर्ट'मा रहन निर्देशन

२०८३ असोज ०८ काठमाडौँ I देशभर जारी भारी वर्षाका कारण सिर्जना हुन सक्ने बाढी, पहिरो तथा डुबानको जोखिमबाट नागरिकको धनजन जोगाउन सरकारले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सेना, प्रहरी तथा सशस्त्र प्रहरीलगायतका सुरक्षा निकायहरूलाई हाइ अलर्टमा राखेको छ।

प्रधानमन्त्री बालेन्द्र शाह र कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेको निर्देशनअनुसार सबै मन्त्रालय र स्थानीय तहहरू विपद् पूर्वतयारी तथा प्रतिकार्यमा जुटेका छन्। यसअन्तर्गत गृह मन्त्रालयले नदी तटीय तथा जोखिमयुक्त बस्तीबाट नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम अघि बढाएको छ भने असोज ९ देखि ११ गतेसम्मका तोकिएका परीक्षाहरू स्थगित गरी आवश्यकताअनुसार विद्यालयहरू बिदा गर्ने र तिनलाई अस्थायी आश्रयस्थल बनाउने निर्णय गरिएको छ।

यस्तै, पूर्वाधार विकास मन्त्रालयले जोखिमपूर्ण सडकहरूमा चौबिसै घण्टा हेभी उपकरण परिचालन गर्दै रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ। स्वास्थ्य, खाद्यान्न र इन्धनको नियमित आपूर्ति सुनिश्चित गर्दै सातै प्रदेशका अस्पताल र एम्बुलेन्स सेवालाई २४ सै घण्टा तयारी अवस्थामा राखिएको छ।

सरकारले पर्यटकको सुरक्षा, विद्युत् तथा सञ्चार सेवाको निरन्तरता, र कृषि उपजको संरक्षणका लागि विशेष सतर्कता अपनाएको छ भने स्थानीय तहका कर्मचारीहरूको बिदा रोक्का गरी नेपाल टेलिकम र विभिन्न आपत्कालीन हेल्पलाइनहरू (११५५, १२३४, ११११, १००, १११४) मार्फत पूर्वसूचना र सहयोग उपलब्ध गराउने व्यवस्था मिलाएको छ।

advertisement_1676553851.gif