राष्ट्रिय सन्देश संबाददाता, ८ घण्टा पहिले
२०८३ असोज ०८ काठमाडौँ I ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा भीषण आगलागी हुँदा करिब १० घर जलेका छन् ।
स्थानीय डण्डु शेर्पाको घरबाट विद्युत् सर्ट भएर आगो लागेको प्रारम्भिक जानकारी आएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले बताए । करिब ५० घरधुरी रहेको बजारमा आगो फैलिँदा ठूलो क्षति भएको छ ।
आगो नियन्त्रणका लागि सुरक्षाकर्मी तथा दमकल परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) कमल बजगाईँका अनुसार तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी घटनास्थलमा परिचालन भएका छन् ।
आगलागी नियन्त्रणका लागि फुङलिङ नगरपालिकाका दुई वटा दमकलसमेत प्रयोग भइरहेको छ । आगो थप फैलिन नदिन सुरक्षाकर्मी, दमकल कर्मचारी तथा स्थानीयवासीले प्रयास गरिरहेका छन् ।