राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, १६ भाद्र, २०८३
२०८३ भदौ १६ काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका मुख्य राजमार्ग तथा सडकखण्डहरू अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित बनेको छ भने प्रहरीले यात्रुलाई जोखिमयुक्त सडकमा यात्रा नगर्न र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
नेपाल प्रहरीले मंगलबार बिहान ७ बजेसम्मको अध्यावधिक विवरण सार्वजनिक गर्दै बाढी तथा पहिरोका कारण विभिन्न सडकखण्डमा यातायात सञ्चालन प्रभावित भएको जनाएको हो ।
प्रहरीका अनुसार ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडामा भदौ १५ गते दिउँसो पहिरो खसेपछि कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरोका कारण सडकमा सवारी आवागमन ठप्प रहेको र सडक खुलाउने प्रयास भइरहेको जनाइएको छ ।
त्यस्तै, बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ । उक्त सडकखण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी साधन सञ्चालन गर्न नदिइने व्यवस्था गरिएको छ । दिउँसोको समयमा भने सडकको अवस्था र जोखिमको मूल्यांकन गरेर मात्र सवारी सञ्चालन गर्न दिइने प्रहरीले जनाएको छ ।
उता, रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढी आएपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। बाढीले सडकमा क्षति पुर्याएपछि उक्त सडकखण्डमा यातायात सञ्चालन हुन सकेको छैन ।
रसुवाका अन्य मुख्य सडकखण्डहरू पनि बाढीका कारण भदौ १० गतेदेखि नै अवरुद्ध रहेको प्रहरीले जनाएको छ । बाढी तथा पहिरोका कारण सडकमा ठूलो क्षति पुगेकाले तत्कालै नियमित यातायात सञ्चालन गर्न कठिनाइ भइरहेको छ ।
प्रहरीले वर्षा जारी रहेकाले सडकखण्डमा थप पहिरो तथा बाढीको जोखिम हुनसक्ने भन्दै यात्रुलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । अत्यावश्यक अवस्थामा बाहेक जोखिमयुक्त सडकमा यात्रा नगर्न तथा सम्बन्धित निकायबाट सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।
बाढी, पहिरो तथा सडक क्षतिको अवस्था निरन्तर अनुगमन भइरहेको र सम्भव भएका स्थानमा अवरोध हटाएर यातायात सञ्चालन गराउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।