राष्ट्रिय सन्देश संबाददाता, १२ घण्टा पहिले
२०८३ भदौ १९ काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र दुई जनाको जीवितै उद्धार गरिएको स्थान नजिकै एक जनाको शव फेला परेको छ ।
आयोजना प्रमुख आवाश ओझाका अनुसार सुरक्षाकर्मी तथा उद्धार टोलीले सुरुङभित्रबाट एउटा शव बाहिर निकालेका छन् । उक्त शवको पहिचान खुल्न बाँकी रहेको छ ।
सुरुङबाट निकालिएको शवको सनाखत गर्ने कार्य भइरहेको छ । यसअघि १० दिनपछि जीवितै उद्धार गरिएका विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र सुपरभाइजर कविर महर्जनको काठमाडौँस्थित छाउनीमा उपचार भइरहेको छ। दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको नेपाली सेनाले जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढी आउने समयमा सुरुङभित्र रहेको भूमिगत विद्युत् गृह (पावर हाउस) मा करिब ४२ जना इन्जिनियर तथा कर्मचारीहरू कार्यरत थिए ।
नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाल विद्युत् प्राधिकरणको संयुक्त उद्धार टोलीले भूमिगत विद्युत् गृह क्षेत्रमा अन्य मानिसहरूलाई जीवितै उद्धार गर्न सकिन्छ कि भन्ने आशाका साथ खोजी तथा उद्धार कार्यलाई निरन्तर जारी राखेका छन् ।