शनिबार, २० भाद्र, २०८३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढीपीडितका लागि राहत वितरण गर्दै

राष्ट्रिय सन्‍देश संबाददाता, ११ घण्टा पहिले

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढीपीडितका लागि राहत वितरण गर्दै

२०८३ भदौ १९ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढीपीडितका लागि पठाइने राहत रकम सरकारी कोषमा जम्मा गर्नुभन्दा सिधै पीडितको हातमा पुर्‍याउनु अहिलेको पहिलो प्राथमिकता हुनुपर्ने बताएका छन् ।

शुक्रबार पार्टी कार्यालय च्यासलमा रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्दै उनले सरकारी कोषमा रकम दाखिला गर्दा प्रक्रियामै थन्किने र पीडितले समयमा सहयोग नपाउने दाबी गरे। राहत रकम पहिला पीडित जनताको हातमा पुर्‍याएपछि मात्र आफ्नो अवस्था र हैसियत अनुसार सरकारी कोषमा दाखिला गर्न सकिने उनको भनाइ थियो ।

 कार्यक्रमका क्रममा अध्यक्ष ओलीले विपद्को समयमा देखिएको ‘ग्रिन आर्मी’ नामक समूहको अस्तित्व र भूमिकामाथि पनि गम्भीर प्रश्न उठाए । उक्त संस्था २०७२ को भूकम्प, कोभिड महामारी वा विगतका बाढीपहिरोजस्ता विपद्मा नदेखिएको उल्लेख गर्दै उनले गत वर्ष राजनीतिक आन्दोलनका नाममा भएका तोडफोड, लुटपाट, आगजनी र हत्याका घटनामा सो समूह आफ्नो पोशाकमा नदेखिए पनि अन्य रूपमा संलग्न थियो कि भन्नेबारे नेपाली जनताले विचार गर्नुपर्ने बताए ।

यसैगरी, नेपालले वातावरणीय विनाशमा भूमिका नखेले पनि त्यसको प्रत्यक्ष मार र क्षति भोग्नुपरेको भन्दै उनले संयुक्त राष्ट्रसंघलगायतका अन्तर्राष्ट्रिय मञ्चहरूबाट विकसित देशहरूसँग दृढतापूर्वक क्षतिपूर्ति माग गर्नुपर्नेमा जोड दिए ।

advertisement_1676553851.gif