शुक्रबार, १८ बैशाख, २०८३

२०औं लोकतन्त्र दिवस: संघीय लोकतान्त्रिक गणतन्त्रको जगका रूपमा आज देशभर मनाइँदै

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, ११ बैशाख, २०८३

२०औं लोकतन्त्र दिवस: संघीय लोकतान्त्रिक गणतन्त्रको जगका रूपमा आज देशभर मनाइँदै

२०८३ बैशाख ११, काठमाडौं । नेपालमा आज २०औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइँदैछ । विसं २०६३ सालको जनआन्दोलनले ल्याएको ऐतिहासिक परिवर्तनको स्मरण गर्दै हरेक वर्ष वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रूपमा मनाउने गरिएको छ ।

विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरेका थिए । सोही दिन जनताको विजय भएको खुसीयालीमा विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो ।

तत्कालीन अवस्थामा राजा ज्ञानेन्द्रले लोकतन्त्रको मूल्य र मान्यता विपरीत शासन सत्ता आफ्नो हातमा लिएका थिए । विसं २०६१ माघ १९ गतेको कदमपछि मुलुकमा उत्पन्न राजनीतिक संकटलाई समाधान गर्न आन्दोलनरत सात दल र तत्कालीन नेकपा (माओवादी) का बीच १२ बुँदे समझदारी भएको थियो । २०६२ साल मंसिरको सो समझदारीले तीन ध्रुवमा विभाजित शक्तिहरूलाई दुई ध्रुवमा ल्याएपछि आन्दोलनले थप बल प्राप्त गर्‍याे ।

तत्कालीन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा २०६२ फागुनदेखि सुरु भएको निर्णायक आन्दोलन वैशाखसम्म आइपुग्दा चुलिएको थियो । चक्रपथमा ओइरिएको जनसागरका कारण राजा ज्ञानेन्द्र आन्दोलनरत दलहरूको मस्यौदामा सहमत भई संसद् पुनर्स्थापनाको घोषणा गर्न बाध्य भएका थिए ।

यो दिनलाई गणतन्त्रको जगका रूपमा लिइन्छ। संसद् पुनर्स्थापनापछि २०६३ जेठ ४ गतेको संसद् बैठकले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गरेको थियो । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने र संविधानसभाको निर्वाचन गर्ने संकल्प प्रस्ताव पारित गरिएको उक्त ऐतिहासिक दिनलाई ‘नेपाली म्याग्नाकार्टा’का रूपमा समेत लिने गरिन्छ ।

यही आन्दोलनको जगमा उभिएर मुलुकले थुप्रै ऐतिहासिक फड्को मारेको छ। विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन सम्पन्न भयो । २०६५ जेठ १५ गते बसेको पहिलो संविधानसभाको बैठकले २४० वर्ष पुरानो राजसंस्थाको विधिवत् अन्त्य गर्‍याे।

विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनपछि २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । अहिले सोही संविधानबमोजिम तीनै तहका निर्वाचन सम्पन्न भई संघीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरिरहेका छन् । लोकतान्त्रिक व्यवस्थाको प्रवेशद्वारका रूपमा वैशाख ११ गतेलाई नेपाली राजनीतिक इतिहासमा विशेष अर्थका साथ लिइने गरिन्छ ।

advertisement_1676551537.gif