शनिबार, २० भाद्र, २०८३

सरकारले गर्यो बाढी प्रभावित क्षेत्रका लागि एक अर्ब रकम निकासा

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १६ भाद्र, २०८३

सरकारले गर्यो बाढी प्रभावित क्षेत्रका लागि  एक अर्ब रकम निकासा

२०८३ भदौ १६ काठमाडौं । सरकारले रसुवा भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि आज १ अर्ब रुपैयाँ निकासा गरेको छ ।

प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत प्रभावित स्थानीय तहलाई आवश्यकताअनुसार रकम उपलब्ध गराउन निर्देशन दिइएको बताएका छन् ।

सरकारका अनुसार निकासा गरिएको १ अर्ब रुपैयाँमध्ये आजै तीन जिल्लाका १५ स्थानीय तहका लागि ६ करोड ७५ लाख रुपैयाँ उपलब्ध गराइसकिएको छ ।

यसअघि पनि सरकारले बाढी आएलगत्तै प्रभावित रसुवा र नुवाकोटलाई १–१ करोड तथा धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराएको थियो । त्यसबाहेक प्रभावित स्थानीय तहका लागि थप ६ करोड ७५ लाख रुपैयाँ समेत निकासा गरिएको सरकारले जनाएको छ ।

उक्त रकम बाढीग्रस्त क्षेत्रमा आवश्यकता र मागका आधारमा बाढीपछिको उद्धार, राहत, तत्कालीन पूर्वाधार सुधार, अस्थायी बासस्थान निर्माण लगायतमा जिल्ला विपद् व्यवस्थापन समितिमार्फत खर्च गर्न सकिने छ ।

advertisement_1676551646.gif