राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, १३ भाद्र, २०८१
तस्विर: राष्ट्रिय सन्देश
काठमाडौं, भदौ १३ । बेपत्ता पारिएका व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै अमेरिकासहित १० देशले स्वागत गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले विधेयक प्रमाणीकरण गरेसँगै संयुक्त विज्ञप्ति जारी गर्दै संयुक्त राज्य अमेरिका, स्विजरल्याण्ड, अस्ट्रेलिया, संयुक्त अधिराज्य बेलायत, नर्वे, जापान, फिनल्याण्ड, युरोपियन युनियन, जर्मनी र फ्रान्सले प्रमाणीकरण भएको टीआरसी विधेयकको समर्थन गरेका हुन्।
पीडितको हितका लागि नेपाल सरकारलाई मद्दत पुर्याउने सम्भावित संयन्त्रहरूको खोजी गर्ने विज्ञप्तिमा प्रतिबद्धता जनाइएको छ । निर्णय प्रक्रियाहरूमा पीडितको निरन्तर सहभागिताले सत्य निरूपण तथा मेलमिलाप ऐनको प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्याउने विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले अगाडीको मार्ग पहिल्याउँदै गर्दा, हामी निम्नानुसारका हस्ताक्षरकर्ता पीडितको हितका लागि नेपाल सरकारलाई मद्दत पुर्याउने सम्भावित संयन्त्रहरूको खोजी गर्ने छौँ। निर्णय प्रक्रियाहरूमा पीडितको निरन्तर सहभागिताले सत्य निरूपण तथा मेलमिलाप ऐनको प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्याउनेछ।’
हालै बेपत्ता पारिएका व्यक्तिको खोजी तथा सत्य निरूपण तथा मेलमिलाप आयोग सम्बन्धी ऐन नेपालको संघीय संसदको दुवै सदनले पारित गरेका थिए र बिहीबार राष्ट्रपतिले प्रमाणिकरण गरेका थिए।