राष्ट्रिय सन्देश संबाददाता, आईतवार, १२ श्रावण, २०८२
११ साउन २०८२, काठमाडौं । नेपालमा कार्यान्वयनमा रहेको ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) को कम्प्याक्टलाई निरन्तरता दिने निर्णय अमेरिकी सरकारले गरेको छ ।
अमेरिकी सरकारले गरेको वैदेशिक सहायता समीक्षाले एमसीसी नेपाल सम्झौताको कार्यान्वयनलाई निरन्तरता दिन सिफारिस गरेको जानकारी नेपालस्थित अमेरिकी दूतावासका प्रवक्ताले दिए । यस निर्णयबारे नेपाल सरकारलाई आफूहरूले सूचित गराएको पनि उनले बताए ।
अमेरिकी दूतावासका अनुसार ५० करोड अमेरिकी डलर (हालको विनिमय दर अनुसार ६८ अर्ब ५० करोड रुपैयाँ) बराबरको एमसीसी सम्झौता र त्यसमा नेपाल सरकारको थप १९ करोड ७० लाख अमेरिकी डलर (करिब २७ अर्ब रुपैयाँ) को योगदानले विद्युत् प्रसारण पूर्वाधार निर्माण र सडक सञ्जाल सुधार गरी समृद्धि र क्षेत्रीय ऊर्जा प्रवर्द्धनमा टेवा पुर्याउँछन् ।
अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले पनि अमेरिकी सरकारले नेपालमा एमसीसीले निरन्तरता पाउने विषयमा जानकारी गराएको बताए ।
