मंगलवार, १० मंसिर, २०८२

अदालतको अवहेलना मुद्दामा सर्वोच्चले माग्यो प्रधानमन्त्री कार्कीसँग जवाफ

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ८ मंसिर, २०८२

अदालतको अवहेलना मुद्दामा सर्वोच्चले माग्यो प्रधानमन्त्री कार्कीसँग जवाफ

२०८२ मंसिर ७, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले जवाफ मागेको छ ।

प्रधानमन्त्री कार्कीविरुद्ध अधिवक्ता डा.प्रेमराज सिलवाल र प्रतिभा उप्रेतीले अदालतको अवहेलना मुद्दा दायर गरेका थिए । उक्त मुद्दा न्यायाधीशद्वय हरिप्रसाद फुयाल र अव्दुल अजीज मुसलमानको संयुक्त इजलासमा सुनुवाइ भएको थियो ।

मुद्दाको सुनुवाइ गर्दै न्यायाधीशद्वय फुयाँल र मुसलमानको इजलासले प्रधानमन्त्री कार्कीसँग लिखित जवाफ माग्ने आदेश गरेको हो। पूर्व प्रधानन्यायाधीशसमेत रहेकी प्रधानमन्त्री कार्कीलाई ‘तपाईँलाई अदालतको अवहेलना मुद्दामा कारबाही किन नगर्ने?’ भनी लिखित जवाफ माग गरिएको हो ।

विभिन्न ११ देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै राजदूत फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्न भनेको थियो । सर्वोच्चको आदेशलगत्तै सरकारले ती देशका राजदूतहरुलाई परराष्ट्र मन्त्रालयमा हाजिर हुनेगरी फर्किन पत्राचार गरेको थियो । अहिले ती राजदूतहरु दैनिक परराष्ट्रमा पुगेर हाजिर गरी घर फर्किन गर्छन् ।

advertisement_1676553908.gif