राष्ट्रिय सन्देश संबाददाता, सोमबार, २३ भाद्र, २०८२
२०८२ भदौ २३, काठमाडौं । सोमबार काठमाडौंको माइतीघरमा जेनजी पुस्ताले प्रदर्शन गर्दैछन् । आम नेपाली युवा- भ्रष्टाचार तथा बेथितिविरुद्ध राष्ट्रिय अभियानले आज बिहान ११ बजे, काठमाडौंको माइतीघर मण्डलासहित देशभरि एकैसाथ 'भ्रष्टाचारलगायत देशमा व्याप्त सम्पूर्ण बेथिति विरुद्ध' राष्ट्रिय स्तरको कार्यक्रम आयोजना गरेको छ ।
यसका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा बाहिरको क्षेत्रमा प्रदर्शनको अनुमति दिएको जानकारी आयोजकले दिएका छन् । यस कार्यक्रममार्फत जात, धर्म, वर्ग, पार्टीभन्दा माथि उठी राष्ट्रिय एकताका आधारमा भ्रष्टाचार र बेथिति विरुद्धको आवाज बुलन्द गरिने अभियानले जानकारी दिएको छ । अभियानले यो भ्रष्टाचारविरुद्धको सङ्घर्ष केवल युवाहरूको मात्र नभई सम्पूर्ण नेपाली जनताको साझा अभियान भएको जनाएको छ । एकता, सत्य र न्याय नै नयाँ नेपालको मार्गदर्शक सिद्धान्त हुन् भन्दै यस ऐतिहासिक अभियानमा सम्पूर्ण युवाहरू तथा आम नागरिकहरूको सक्रिय उपस्थितिका लागि हार्दिक अपिल गरेको छ । साथै अभियानले कार्यक्रमलाई शान्तिपूर्ण, मर्यादित र सभ्य ढङ्गले सम्पन्न गर्ने अठोट रहेको बताएको छ ।
यस प्रदर्शनका लागि रास्वपा, माओवादी केन्द्रसहितका दलले पनि समर्थन जनाएका छन् भने अन्य विभिन्न अभियानले पनि यस प्रदर्शनलाई समर्थन जनाएका छन् ।
जेनजीको यस स्वतःस्फूर्त प्रदर्शनलाई राजनीतिक रङ्ग दिने प्रयास सुरु भएपछि काठमाडौँ महानगरका मेयर बालेन शाहले आन्दोलन प्रति आफ्नो समर्थन जनाउँदै नेता र अभियन्ताहरूलाई यसको फाइदा उठाउन धेरै बाठो नहुन सचेत गराएका थिए ।
स्वतःस्फूर्त रूपमा सामूहिक नेतृत्वमा शान्तिपूर्ण प्रदर्शन हुने हुनाले यसको नेतृत्व कसैले पनि नगर्ने तर शान्तिपूर्ण रूपमा भेला भएर आफ्ना राख्ने गरी तयारी गरेको आयोजकले जनाएका छन् ।