राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, २० फाल्गुन, २०८१
२० फागुन २०८१, काठमाडौँ । सरकारले भूमिसम्बन्धी अध्यादेश तत्काल अघि नबढाउने भएको छ । सरकारमा आबद्व रहेको केही दलको साथ नपाएपछि सरकार तत्काल भूमि सम्बन्धी अध्यादेश रोक्ने निर्णयमा पुगेको हो ।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार भूमिबाहेकका अध्यादेशहरु २१ गतेको प्रतिनिधि सभा र २२ गतेको राष्ट्रिय सभा बैठकबाट पास गर्ने तयारी छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँगको छलफलपछि नै अन्य पाँच अध्यादेश अघि बढाउने निर्णय गरिएको बर्तौलाले बताए ।
सरकारले ६ वटा अध्यादेश ल्याएको थियो । जसमा सत्ता गठबन्धनमा रहेका जसपा नेपाल र लोसपाले भूमिसम्बन्धी अध्यादेश फिर्ताको अडान राखेका थिए । संसदमा उनीहरुले साथ नदिनेभएपछि पाँच वटा अध्यादेशमात्र संसदबाट पास गर्न लागिएको हो ।
जसपा नेपालको आइतबारबाट जारी केन्द्रीय कमिटी बैठकमा पनि भूमि सम्बन्धी अध्यादेश कुनैपनि हालतमा नस्विकार्ने प्रस्ताव पेस गरिएको थियो । सत्तारुढ लोसपा पनि यस अध्यादेशमा सहमत नभएपछि सरकार पछि हट्न बाध्य भएको हो ।