राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, ९ बैशाख, २०८२
९ बैशाख २०८२, काठमाडौं । भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर मङ्गलबार नेपाल आउने भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् ।
गत माघ ३० गते भारतको भ्रमणका क्रममा मन्त्री खड्काले भारतका विद्युत्मन्त्री खट्टरलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए । उनी दुई दिन नेपालमा रहने मन्त्रालयका प्रवक्ता सन्दीपकुमार देवले जानकारी दिए ।
खट्टरले मङ्गलबार दिउँसो भारत सरकारको सहयोगमा निर्माणसम्पन्न कोशी कोरिडोर २२० केभी प्रसारण लाइन अन्तर्गत इनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार प्रसारण लाइन तथा २२०र१३३र३३ केभी तुम्लिङटार सबस्टेसन, २२०र३३ केभी बानेश्वर सबस्टेसन र २२०र१३३र३३ केभी बसन्तपुर सबस्टेसनको संयक्त रूपमा संखुवासभाको तुम्लिङटार सबस्टेसनमा उद्घाटन गर्नेछन् ।
आजै भारतीय लगानीमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकन गर्ने कार्यक्रमसमेत रहेको छ । सोही दिन दुई देशले संयुक्त रूपमा निर्माण गर्न लागेको प्रसारण लाइन निर्माणका लागि स्थापना गरिएको कम्पनीको सम्झौतापत्रमा हस्ताक्षर हुने मन्त्री खड्काको निजी सचिवालयले जनाएको छ ।
मङ्गलबार नै मन्त्रीद्वयको उपस्थितिमा नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेसन इन्डियाबीच दुई अन्तरदेशीय प्रशारणलाइन निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रमसमेत तय भएको छ ।