मंगलवार, २८ आश्विन, २०८२

एक महिनापछि लयमा फर्किंदै सर्वोच्च, आजदेखि रिट निवेदन दर्ता

राष्ट्रिय सन्‍देश संबाददाता, ३ घण्टा पहिले

एक महिनापछि लयमा फर्किंदै सर्वोच्च, आजदेखि रिट निवेदन दर्ता

२०८२ असोज २८, काठमाडौँ । जेनजी आन्दोलनको क्रममा आगजनी भएको सर्वोच्च अदालत लयमा फर्किन थालेको छ । सर्वोच्च अदालत प्रशासनले आज असोज २८ गतेदेखि रिट निवेदन दर्ता गर्ने जनाएको छ । 

मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७ र १५५ का निवेदनहरू आज २८ असोजदेखि दर्ता एवं सुनुवाइ हुने हुनेछ । सर्वोच्च अदालतको आइतबार बसेको फुलकोर्टको बैठकले असोज २८ गतेदेखि नयाँ मुद्दा दर्ता गर्ने निर्णय गरेको थियो । 

जेनजी युवाको प्रदर्शनको क्रममा गत भदौ २४ गते सर्वोच्च अदालत भवनमा आगजनी भएको थियो ।आगजनीका कारण अधिकांश मुद्दाका मिसिल र पुराना कागजात जलेर खरानी भएका थिए । त्यसयता सर्वोच्च अदालतको सेवा प्रभावित भएको छ । 

यसअघि सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणसहित अत्यावश्यक मुद्दाको सुनुवाइ भने टेन्ट टाँगेर दिएको थियो । नियमित अन्य सेवा प्रवाहको भने अर्को सूचना प्रकाशित नहुँदासम्म म्याद, हदम्याद र तारेख नगुज्रने सर्वोच्च अदालतले जारी गरेको सूचनामा उल्लेख छ ।

advertisement_1680627680.gif