राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, १५ जेष्ठ, २०८१
काठमाडौं, जेठ १५। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको माग बमोजिम सहकारीको रकम हिनामिनाको छानविन गर्न संसदीय समिति गठन भएको छ।
मंगलबार दलहरुबीच भएको सहमति अनुसार एमाले सांसद सूर्य थापाको नेतृत्वमा ७ सदस्यीय समिति गठन भएको हो।
समितिको सदस्यहरूमा नेपाली कांग्रेसका ईश्वरी न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान, कांग्रेसका बद्रीप्रसाद पाण्डे, नेकपा (माओवादी केन्द्र) का लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल र एमालेका सरिता भुसाल रहेका छन् । समितिको सभापति थापा क्षेत्री रहेका छन् ।
सहकारीको रकम हिनामिना, अपचलन, अनुचित लेनदेन, हानी नोक्सानी, संसद्मा विषय उठेका, गोर्खा मिडिया नेटवर्क प्रालिलगायतमा प्रवाह भएको रकम र त्यसमा सम्लग्न व्यक्तिका सम्बन्धमा छानबिन गरी कारबाहीको सिफारिस गर्ने र छानबिन हुनुपर्ने विभिन्न सहकारीको नाम कार्यादेशको अनुसूचीमा राखिएको छ ।
समितिको कार्यावधि तीन महिनाको हुनेछ ।