राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, १० श्रावण, २०८२
९ साउन २०८२, काठमाडौं । संघीय निजामती सेवा विधेयकमा रहेको कुलिङ पीरियडमाथि छेडखानी गरिएको घटना छानबिनका लागि गठित छानबिन समितिको म्याद सात दिन थप भएको छ । आज प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले राखेको विशेष समितिको कार्यावधि सात दिन थप गर्ने सम्बन्धी प्रस्ताव सभाले स्वीकृत गरेको हो ।
‘संघीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिबाट ७ दिनको कार्यावधि थप गर्न माग भई आएकोले उक्त समितिको समयावधि ७ दिन थप गर्न सभाको सहमतीको लागि प्रस्ताव गर्दछु। म्याद थप सम्बन्धी प्रस्तावलाई सभाले सहमति जनाएको सभामुख देवराज घिमिरेले घोषणा गरे ।
गत असार २३ गते छानबिनका लागि सात सदस्यीय संसदीय विशेष समिति गठन गरिएको थियो । समितिमा कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायण प्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की छन् ।