राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २७ जेष्ठ, २०८१
काठमाडौं, जेठ २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन आज भारत जादै छन् । आज बेलुका नयाँ दिल्लीमा हुने प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री ‘प्रचण्ड’ त्यसतर्फ जान लागेका हुन् ।
प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आज अपराह्न नयाँदिल्लीका लागि प्रस्थान गर्नेछन्। प्रधानमंत्री पचण्ड सँगै उनकी छोरी गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी पनि जाने भएका छन्।
भारतीय जनता पार्टीका नेता मोदीले शपथ लिएपछि प्रधानमन्त्री प्रचण्ड र उनीबीच आज साँझ नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ।
सन् २०१४ मा प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए । मोदीले भारतको नेतृत्व सम्हाल्नेबित्तिकै अवलम्बन गरेको ‘छिमेक पहिले’ विदेशनीतिमा दक्षिण एसियाली राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलाई उक्त समारोहमा निमन्त्रणा गरेका थिए ।