राष्ट्रिय सन्देश संबाददाता, शनिबार, २९ भाद्र, २०८१
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले यही बर्ष अर्थात २०८१ भित्र नै नेपाललाई सडक बालबालिका मुक्त राष्ट्र बनाउने बताएका छन्।
नेपाल बाल सङ्गठनद्वारा ६०औं राष्ट्रिय बाल दिवसका अवसरमा काठमाडौंमा आज आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले पनि ठूलो संख्यामा बालबालिकाहरू बेसहारा र अभिभावकविहीन भएको बताएका छन्। उनले भने शिक्षा र स्वास्थ्यका अवसरबाट धेरै बालबालिकाहरु वञ्चित भएको अवस्थामा यस्तो स्थितिलाई बदल्न सरकार लागि पर्ने छ। ।
प्रधानमन्त्री ओलीले बाल दिवसका अवसरमा तय गरिएको ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ नारालाई सार्थक बनाउनुपर्नेमा जोड दिए। संयुक्त राष्ट्रसङ्घले गरेका बालअधिकारसम्बन्धी सम्झौता र नेपालको संविधानको मौलिक हकको कार्यान्वयन गर्नु पर्नेमा जोड दिदै ओलीले बेसहारा बालबालिकालाई अभिभावकत्व दिएर हेरचाह गर्नुपर्ने बताए।