सोमबार, ११ कार्तिक, २०८२

४७औँ पुष्पलाल श्रेष्ठको स्मृति दिवस मनाउँदै

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ८ श्रावण, २०८२

४७औँ पुष्पलाल श्रेष्ठको स्मृति दिवस मनाउँदै

७ साउन २०८२, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवस आज देशभर मनाइँदै छ । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत कम्युनिष्ट पार्टीले विविध कार्यक्रम गरी दिवस मनाउन लागेका छन्।

विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिएका पुष्पलाल श्रेष्ठले नै कार्लमाक्र्स र फेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट मेनिफेस्टो’ (कम्युनिष्ट पार्टीको घोषणापत्र, सन् १८४८) को पहिलो पटक नेपाली भाषामा अनुवाद गर्नुका साथै पहिलो पटक विभिन्न कृति र लेखमार्फत नेपाली समाजको वर्ग विश्लेषण गरेर नौलो जनवाद स्थापनाका लागि आह्वान गरेका थिए । त्यसैले पुष्पलाललाई नेपालका कम्युनिष्ट पार्टीले नेपालको कम्युनिष्ट आन्दोलनको पिताको रुपमा मान्ने गर्दछ ।

पार्टीको घोषणापत्रमा पुष्पलालले नेपाली क्रान्ति, नौलो जनवादको बाटोबाट अघि बढ्नुपर्ने कुरा अघि सारेका थिए । कम्युनिष्ट घोषणापत्र लेखेपछि उनकै नेतृत्वमा २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना भएको हो ।

भारत, कलकत्तास्थित श्यामबजारको एक बंगालीको घरमा नेकपा पार्टी स्थापनाको घोषणा भएको थियो। नेकपाको पुष्पलाल संस्थापक महासचिव थिए । नेकपाको स्थापना कालमा पुष्पलाल, नरबहादुर कर्माचार्य, नीरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठ रहेका थिए ।

पुष्पलालको स्मृति दिवसको अवसरमा नेकपा (एकीकृत समाजवादी) ले कीर्तिपुर नगरपालिका-४ चम्पादेवीस्थित पुष्पलाल उद्यानमा श्रद्धाञ्जलीसभा, अन्तरक्रिया, ग्रन्थ विमोचनलगायत कार्यक्रम गर्ने जनाएको छ ।

पार्टीले मातहतका सबै जिल्ला कमिटीलाई स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउन निर्देशन दिएको छ। पुष्पलालको २०३५ साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

advertisement_1676551537.gif