राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, ११ जेष्ठ, २०८१
काठमाडौं, जेठ ११ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । कांग्रेसको अवरोधले निरन्तर विथोलिएको प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्न लागेको हो ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण’ले राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनेर प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।
यो कार्यसूची यथावत रहे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
त्यसपछि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुनेछ । प्रतिनिधि सभामा जम्मा दुई वटा संशोधनको सूचना दर्ता भएको छ ।
सहकारीको रकम अपचलनबारे गृहमन्त्रीको नाम नै तोकेर संसदीय छानबिन समितिको माग गर्दै आएको कांग्रेसले आफ्ना माग पूरा नभएसम्म संसद् चल्न नदिने बताउँदै आएको छ ।
त्यसैगरी सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र छलफल गर्ने कार्यसूची पनि छ। त्यसपछि प्रधानमन्त्री प्रचण्डले छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन्।
सभामुखले प्राप्त संशोधनहरू र सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।