राष्ट्रिय सन्देश संबाददाता, आईतवार, १५ मंसिर, २०८२
२०८२ मंसिर १४, काठमाडौँ । पछिल्ला केही वर्षदेखि विभाजनमा रुमल्लिएको गैरआवासीय नेपाली संघ (एनआरएन)बीच आज एकता सम्बन्धी सहमतिमा हस्ताक्षर भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा विभाजित संघका अध्यक्षद्वय महेश श्रेष्ठ र डा. बद्री केसीले एकतासम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । १०औँ महाधिवेशनबाट सुरु भएको सदस्यतासम्बन्धी विवादले संघ विभाजन भएको थियो ।
एकतापछि १०औँ र ११औँ महाधिवेशनमा निर्वाचित दुवैतिरका समितिलाई मान्यता दिने, १२औँ महाविधेशन गर्न अध्यक्ष केसी र श्रेष्ठ रहेको स्टेयरिङ कमिटी गठन गर्ने, अदालतमा दुवै पक्षले गरेका मुद्दामामिला फिर्ता गर्ने, सदस्यता वितरणका लागि समय थप गर्ने लगायतका सहमति भएको छ ।
साे अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले गैरआवासीय नेपाली संघको एकता घोषणा कोशेढुंगा सावित हुने बताएकी छन् । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समिति (एनआरएनए)को एकता घोषणा कार्यक्रमलाई आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले गैरआवासीय नेपालीको हित र आवश्यकता बुझेर जहाँ रहे पनि नेपाली हुँ भन्ने भावना देखाएर नेपालको विकास र उन्नतिमा लाग्न आह्वान गरिन् ।
प्रधानमन्त्री कार्कीले गैरआवासीय नेपालीले संविधान र कानुनबमोजिम पाउने हक र सुविधामा सरकारले सक्दो वातावरण मिलाउने विश्वास दिलाइन् ।