राष्ट्रिय सन्देश संबाददाता, शनिबार, १४ भाद्र, २०८२
२०८२ भदौ १४, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ । शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन चीनको थियानजिन अतिथि गृहमा दुई पक्षीय भेटवार्ता भएको हो ।
मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली स्थानीय समयअनुसार दिउँसो ३ः१५ बजे हिमालय एयरलायन्सको विशेष विमानमार्फत थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका हुन् ।
थियानजिन अतिथि गृहमा भएको भेटवार्तामा दुई देशबिच आपसी हितका विषयहरू, द्विपक्षीय सम्बन्ध विस्तार र क्षेत्रीय सहकार्यबारे छलफल भएको बताइएको छ ।
तियान्जिनमा उनलाई चीन सरकारका उच्चाधिकारी र चीनका लागि नेपालका राजदूत डा. कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत चेन सोङलगायतले स्वागत गरेका थिए ।