राष्ट्रिय सन्देश संबाददाता, शनिबार, १४ मंसिर, २०८२
२०८२ मंसिर १३, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् । प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा कार्कीसँग उनीहरूले भेट गरेका हुन् ।
भेटमा मुलुकको दीर्घकालीन समाधानका लागि राजा, राजनीतिक दल र जेनजीबीच नयाँ राजनीतिक समझदारीको औपचारिक प्रस्ताव अघि सारेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले ५ बुँदे ज्ञापनपत्र बुझाउँदै सर्वपक्षीय बैठकको पहल गर्न आग्रह गरेका छन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशको विद्यमान समस्याहरू समाधान गरेर अगाडि बढ्न र निर्वाचन गराउन बनेको भनेर प्रधानमन्त्री कार्कीलाई स्मरण गराएको बताए । उनले निर्वाचनको वातावरण बनाउनका लागि राजा, राजनीतिक दल, जेनजी र सरोकारवालाहरूसँग पनि संबाद गरेर अघि बढ्न सुझाव दिएको बताए ।
प्रधानमन्त्रीसँग भएको भेटमा राप्रपाले २०८४ मा हुने निर्वाचन २०८२ मा सार्नका लागि मात्र सरकार नबनेकोले आन्दोलनको जगलाई टेकेर राजनीतिक निकास निकाल्ने गरी काम गर्न आग्रह गरेको अध्यक्ष लिङदेनले बताए ।
