राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २२ आश्विन, २०८२
२०८२ असोज २२, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज विभिन्न ४४ देशका राजदूत सँग छलफल गर्ने भएकी छन् । प्रधानमन्त्री कार्कीले दिउँसो ४ बजे ४४ देशमा रहेका नेपाली राजदूत तथा नियोग प्रमुखहरूसँग सामूहिक भर्चुअल छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
देशको पछिल्लो राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय सम्बन्ध, वैदेशिक लगानी, पर्यटक आगमनमा आएको कमी लगायतका विषयमा प्रधानमन्त्रीले छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको हो ।
परराष्ट्र मन्त्रालयको कार्यभार समेत सम्हालिरहेकी कार्कीले छलफलपछि आवश्यक निर्देशन दिने बताइएको छ । मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार प्रधानमन्त्रीले पछिल्ला नीतिगत चुनौती र अवसरका विषयमा राजदूतहरूबाट प्रत्यक्ष प्रतिक्रिया लिने तयारी रहेको छ ।
हाल जेनजी आन्दोलन पश्चात् विभिन्न देशले भिजिट भिसामा कडाइ गरेको पृष्ठभूमिमा, प्रधानमन्त्रीले कूटनीतिक समन्वय र वैदेशिक सम्बन्ध सुदृढीकरणका विषयमा विशेष ध्यान दिने बताइएको छ ।